एनेकपा माओबादी अध्यक्ष प्रचन्ड गत साता भारत भ्रमणमा निस्किएपछी नेपालमा उनको भारत भ्रमणको विषयलाइ लिएर धेरै प्रतिक्रियाहरु आए । सामाजिक सन्जालदेखि सन्चारमाध्यमसम्म उनको भारत भ्रमणको विषयलाइ लिएर कटाक्ष र खण्डन भए । प्रचन्ड मात्र होइन, हिजो बाबुराम भट्टराइ भारत जाँदा पनि बिरोध भएको हो। भोली माधव कुमार नेपाल, शुशिल कोइराला, केपी ओली, शेर बहादुर देउवा, रामचन्द्र पौडेल लगाएतका नेता भारत भ्रमणमा जालान् र त्यति बेला पनि यि सबैको विरोध हुनेछ ।
यो पंतिकारलाइ नेता भारत जाँदैमा विरोध गरिहाल्नुपर्छ पर्छ भन्ने चाही लाग्दैन । किनभने, हाम्रा नेताहरुको देह नेपालमा जन्मिएको भएपनि राजनैतिक आत्माको जन्म भारतमा भएको हो । हाम्रा नेताहरुको राजनैतिक भोटो र लंगोटी भारतले नै लागाइदिने गर्छ, त्यसैले उनीहरुले आफ्नो मात्र लाज छोप्न सक्छन्, देशको सक्तैनन् । उनीहरुको राजनैतिक न्वारणदेखि काजक्रियासम्म भारत बिना संभब छैन । उनीहरुले नेपाल र नेपालीको बारेमा सोच्लान् र नेपालको राष्ट्रियताका विषयमा निर्णय गर्लान भन्नु कल्पना बाहिरको कुरा हो । कारण, उनीहरुको दिमागको चाबी भारतसँग छ । उनीहरु नेपालमा विहान राष्ट्रियता भनेर उर्लिन्छन्, र बेलुका भारत पुगेर भारतको राष्ट्रियताको पक्षमा सम्झौतामा लम्पसार पर्छन् ।
जनयुद्ध ताका गाइगोठमा भएका अलि खाइलाग्दा र मोटाघाटा गाइहरु कृषकसँग खोसेर काटिन्थ्यो र बाँडिचुडी खाइन्थ्यो । गाई नेपालको राष्ट्रिय जनाबर हो । देशको राष्ट्रियताको नारा उठाएर जनयुद्ध गरेको तत्कालिन माओबादीले राष्ट्रिय जनावरको सम्मान गर्न जानेन नत राष्ट्रिय झन्डाको नै इज्जत गर्यो । नेपाली लोकसंस्कृति र लोकगितलाइ उच्छृङ्खलको संज्ञा दिँदै जनवादी गितलाइ प्रश्रय दियो, बाबुआमाको काजक्रिया गर्नु वाहियात भन्दै क्रियापुत्रीलाइ अपहरण र हत्या समेत गरियो । अहिले पनि माओवादी नेता प्रचन्ड देखि एमाले नेता माधवकुमार नेपाल सम्मले आफ्ना अभिभाबकको काजक्रिया गरेका छैनन् । धर्म हिन्दु मान्छु भन्नु तर हिन्दु धर्मको सामान्य प्रकृया पुरा गर्न पनि हिच्किचाउनु समाजको लागी राम्रो सन्देश होइन । साँस्कृतिक विविधता भएको देशमा ठूलो पदमा भएका र जनताले अलिकति आश भएका नेताहरुले आफ्नो सँस्कृति नै लोप गराउने खालका यस्ता क्रियाकलाप गर्नु समाज लागी पाच्य नहुन सक्छ ।
दुनियामा यस्तो क्रम भंग कही पनि देखिँदैन । अमेरिका विश्वको सबैभन्दा बढी साँस्कृतिक विविधता पाइने देश हो । त्यहाँ ७१ प्रतिशत क्रिष्चियन छन् र त्यहाँको संविधानले देश धार्मिक रुपमा स्वतन्त्र भन्छ तर त्यहाँको राष्ट्रपतिले शपथ खाँदा बाइबल छुनै पर्ने कानुन छ । मध्यपुर्वका विकशित मुस्लिम राष्ट्रहरु साउदीअरव, कतार पनि आफ्नो मुख्य धर्म र संस्कृतिलाइ जगेर्ना गर्दै विश्व सँग प्रतिष्पर्धा गरेका छन् । हाम्रो छिमेकी मुलुक भारतमा पनि हिन्दु धर्मालम्वीको जनसंख्या करिब ८० प्रतिशत छ, तर संविधानले भारतलाइ हिन्दु राष्ट्र भन्दैन । हिन्दु राष्ट्र नभएपनि हिन्दु धर्म र संस्कारको लागी भारत सँधै चनाखो छ । संस्कार जोगियो भने राष्ट्रियता जोगिन्छ भन्ने छ भारतको मान्यता ।
हामी कहाँ मात्र त्यस्तो छैन । नेपालमा करिब ८१ प्रतिशत हिन्दु छन् । यति धेरै हिन्दुहरुलाइ तिरस्कार गर्ने खालको संविधान आयो र संविधानमा सिधै धर्म निरपेक्ष राखियो भने हिन्दुहरु पनि जिस्किन सक्छन् । त्यसकारण धर्मको विषयमा जनमत संग्रहमा जानु सबैभन्दा बुद्धिमानी बाटो हुन सक्छ । लेख्नै परे जनमत संग्रह मार्फत संविधानमा धार्मिक स्वतन्त्रता लेखिनुपर्छ र देशको गौरब र साँस्कृतिक पहिचानको लागी अमेरिकामा बाइबल छोए जस्तो सरकारी नियुक्तिमा गिता छोएर शपथ खाने ब्यवस्था राखिनुपर्छ । तर नेताहरुलाइ यो कुरा पाच्य नहुन सक्छ कोही नेतालाइ केही दिनमै प्रधानमन्त्री बन्नु छ र कोहीलाइ राष्ट्रपति बन्नु छ । जनमत संग्रह धेरै टाढाको कुरा हो ।
केही समयदेखी नेपालमा राष्ट्रियता भन्ने शब्दले महत्व पाएको छ । नेताका धेरैजसो भाषण भुषण र अन्तरवार्ताहरु राष्ट्रियताका विषयमा हुन्छन् । कतिपय नेतालाइ त राष्ट्रियता र यसको सवालले यति भाबुक बनाउँछ उनीहरु त्यही आशु बगाइदिन्छन्, फिल्मी शैलीमा । मानौ देशको मायाले नै उनीहरुको शरिर बनेको छ । तर काम भने त्यसको ठिक उल्टो गर्छन् ।
खै कस्ले गर्यो नेपालको रक्षा? नदिनाला बेच्ने कांग्रेस, अरुण तुहाउने एमाले देखि, सुरुङयुद्ध र विप्पा नायक एमाओवादी सम्म नेपालको राष्ट्रियता र नेपालको माया गर्ने नेता देखिएको छैन । तराइका गच्छेदार देखि एमालेका केपीसम्म कांग्रेसका गिरीजा देखि माओवादीका प्रचन्डसम्म सबैले आफ्नो दुनो सोझ्याउन र स्वार्थ पुरा गर्न मात्र भ्याए । देशमा राष्ट्रप्रेमी, असल र इमान्दार नेताको खडेरी सधैं परिरह्यो।
नेतालाइ भाषण गर्न दिने हो भने नेपाललाइ एक चुड्कीको भरमा विकास गर्ने क्षमता आफूमा छ भनेर भाषण गर्छन्, राष्ट्र राष्ट्रियता र राष्ट्रिय चिन्हको रक्षक आफू मात्र भएको भाषणबाटै प्रमाणित गर्छन् ।
नेता मात्र हैन हामी जनता पनि त्यस्तै छौं । हामी नेपाली जति बोल्छौं, हाम्रा हात त्यतिनै खुम्चिन्छन् । हामी जति फूर्ती गर्छौ, हाम्रा खुट्टा त्यति नै कुझिन्छन् । संस्कार र संस्कृतिमा धनी छौं भनेर भाषण गर्न दिने हो भने हामी घन्टौं गर्न सक्छौं, तर हामीले संस्कार र संस्कृति जोगाउन सकेका छौं कि छैनौं भनेर सोच्ने समय हामी सँग छैन ।
सिके राउतहरु देशमा त्यसै जन्मेका हैनन् । उनीहरु तिनै नेताका कारणले जन्मिएका हुन् । अर्को कुरा सिके राउतलाइ समर्थन गर्ने जनताहरु पनि बौलाहा हैनन् । इतिहासले देखाउँछ नेपाली जनता, चाहे तराइका हुन्, चाहे पहाडका हुन्, चाहे हिमालका हुन्, सबै सिंगो नेपालको माया गरेर बसेका छन् । सुन्दर नेपालकाे कल्पना गर्दै नेपाल एक हुनु पर्छ भन्ने नारा लगाउने यिनै जनता हुन् । जनताले सधै कांग्रेस, एमाले, माओबादी हुँदै मधेसी दललाइ समर्थन गरे । भोकै बस्न परे बसे, देशलाइ रगत चाहिए दिए । जनताले यसो गर्नुमा सँघै एउटा राष्ट्रियताको मात्र स्वार्थ थिएन । नारा राष्ट्रियताका भए पनि जनतामा भोको पेट भर्ने आस थियो, शरिरमा राम्रा लुगा लाउने कल्पना थियो, ठूलाबडा र धनीहरुको चाकडी हैन, तिनीहरु सँग सँगै हिड्ने सपना थियो । नेपाल विकसित होला, चाक्ला बाटा बन्लान, विजुली आउला, छोराछोरीलाइ राम्रो स्कुलमा पढाउँला, ठुलो र अग्लो घरमा बसौंसा भन्ने आशमा जनता सधै आन्दोलन देखि जनयुद्द सम्म गएका हुन् । नेतालाइ धनी बनाउनको लागी र नेतालाइ सुख शयलमा राख्नको लागी छातीमा गोली ठोकेका हैनन् । अब नेताले बुझ्नु पर्छ ।
राष्ट्रियता भनेको के हो? भोको पेट, च्यातिएको लुगा र नाङ्गा खुट्टा, लिएर नेताको पछीपछी पार्टीको झन्डा बोकेर हिड्नु राष्ट्रियता हो? आज सम्म भोको पेटमा नेपाल-नेपाल भनेर जनताले के पाए? राष्ट्रले अहिले सम्म जनतालाइ के दियो? त्यही बन्द, हड्ताल, युद्ध, गोला बारुद, तनाब, धर्म किनबेच, तिरस्कार, भोकमरि, गरिबी, मृत्यु र परिबार सँग बिछोड । त्यो बाहेक गरिब जनताले राष्ट्रबाट केही पाएका छैनन्, जनताले जे गरे नेताको लागी मात्र गरे । तर, नेतालाइ राष्ट्रियता चाहिएको छैन । उनीहरुलाइ त केबल राष्ट्रियताकाे नारा चाहिएको हो, जोगीको कुमन्डलु जस्तै, मागिखानको लागी ।
आखिर शान्ती छैन, स्वतन्त्रता छैन, भोक लाग्दा मुखमा हाल्ने माड छैन, नाङ्गो शरिर ढाक्ने लुगा छैन, टाउको दुख्दा खाने सिटामोल छैन, भुकम्प पिडितहरु बर्खा याममा भोको पेटमा पाल मुनि बस्न बाध्य छन् , नेताहरु संविधान बनाउन जनताकोमा हैन भारत जान्छन् , यति कै लागी राष्ट्रियता रहेर के भयो र? अाफ्नाे शरिर रहे पाे राष्ट्रियता । शरिर भन्दा माथी जात छैन, शरिर भन्दा ठूलो धर्म छैन, त्यसैले बाँच्नु नै सबैभन्दा ठूलो कुरा छ यहाँ त्यसपछी धर्म, जात, राष्ट्रियता र देश ।