हाम्रो शिक्षा र यसमा हुनुपर्ने सुधारहरु

image
विनोद पौडेल

केही दिन अगाडी प्रकाशित “स्नातकोत्तरको पढाइ र नविकेको बोयोडाटा” शीर्शकको आलेखमा थुप्रै पाठक प्रतिक्रिया र टिप्पणीहरु भए । कतिपय पाठक मित्रहरुले नेपालको शिक्षामा खोट लगाइ हाल्नु पर्ने ठाउँ नभएको विषयमा बहस गर्नु भयो भने, कतिपयले अरु क्षेत्रको तुलनामा शिक्षाले छोटो समयमै फड्को मारेको प्रतिक्रिया दिनु भयो ।

नेपालमा बर्षेनी हजारौं युवाहरुले विश्वविद्यालय बाट स्नातकोत्तरको डिग्री लिने गर्छन्। पढेका मान्छेहरु धेरै छन्, हातमा सर्टिफिकेट नभएकाहरु सायदै भेटिएलान् । तर चासो डिग्री र सर्टिफिकेटमा होइन, चासो ति डिग्रीहरुको उत्पादनसिलता, र उपयोगीतामा हो, र चासो पढ्नको लागी गरेको लगानीले राज्य र विद्यार्धी स्वयम् लाइ कति फाइदा दियो भन्ने हो ।

हाम्रो शिक्षा कामै नलाग्ने भो भन्दा पनि हाम्रो शिक्षा उत्पादनमुखि भएन भन्ने यो पंतिकारको गुनासो हो । एकातिर, नेपालमा केही उत्कृष्ट मानिने डाक्टर इन्जिनियरिङ विषयहरु हुने खानेले पढ्न मात्र सम्भब छन्, बिहान बेलुका घरको काम भ्याएर दिउँसो स्कुल जाने दुरदराजका गरिबका छोराछोरीलाइ डाक्टर इन्जिनियरिङ विषयहरु आकाशको फल जस्तै छन् । अर्कोतर्फ, बहुसंख्यक विद्यार्थीले वर्षौं खर्चेर लिने डिग्रीका सर्टिफिकेटहरु बायोडाटाको पाना भर्नको लागी मात्र काम लाग्ने खालका छन् । कारण, हाम्रा विद्यालय विश्व विद्यालयले विद्यार्थीको चाहना अनुशारको शिक्षा दिन सकेका छैनन् । यो शिक्षा देशलाइ अहिलेको अवस्थामा चाहिने जनशक्ति दिन सक्ने खालको छैन ।

प्रत्येक मानिसमा उसको अंतरंग सिप र कला हुन्छ, उसको सृजनाशक्ति र उत्पादनशिलता हुन्छ । शिक्षाले उस्को त्यही अंतरंग सृजनालाइ प्रस्फुटन गर्न सक्नु पर्दछ । तर हाम्रो शिक्षा त्यस्तो छैन, हाम्रो शिक्षा त कसैको सृजनालाइ प्रस्फुटन गराउनु भन्दा पनि अरुको दिमागमा भएको रेडिमेड कुरालाइ जवर्जस्ती विद्यार्थीको दिमागमा घुसाउन प्रयत्नरत छ । यो प्रक्रिया स्कूलहरुबाट मात्र नभएर घरमा अभिभाबक हरुबाट सुरु हुन्छ । छोरा छोरीले खेल खेले भने, चलचित्र हेरे भने बिग्रिन्छन् भन्ने छ आम अभिभाबकको मानसिकता । यो मानसिकता परिवर्तन हुनु पर्छ । “शिक्षा भनेको सिकाइ हो, जसरी सिके पनि, जे सिके पनि जीबनमा जिउने कला सिक्नु पर्छ” भन्ने सोँच अभिभाबकमा आउने हो भने मात्रै पनि शिक्षाले फरक रुप लिन सक्छ।

संस्कार, रहनसहन, नयाँ ज्ञान र सिप सिक्दै आधुनिक विश्वसँग प्रतिष्पर्धा गर्नको लागी समाज र राष्ट्रको लागी चाहिने माध्यम शिक्षा हो । मुलुकले संविधानसभाबाट नयाँ संविधान पाउँदै छ । संविधानको प्रारम्भिक मस्यौदा पनि बनिसकेको छ । नयाँ बन्ने संविधानमा शिक्षालाइ एउटा हक भन्दा पनि जन्मसिद्ध अधिकारको रुपमा उल्लेख गर्न सक्नु पर्छ । तर, संविधानको मस्यौदामा उल्लेखित शिक्षा सम्बन्धी ब्यवस्था अपूर्ण र पुरानै शैलीको छ । उच्च माध्यमिक तहको सम्मको शिक्षालाइ अनिवार्य र निशुल्क हुने ब्यवस्था संविधानमा राखिनुपर्ने हो, तर संविधानमा आधारभुत शिक्षालाइ अनिवार्य र माध्यमिक शिक्षालाइ निशुल्क राखिएको छ । यो ब्यवस्था आफैमा संकुचित देखिन्छ ।

हुन त संविधानमा उल्लेख गर्दैमा शिक्षाले फड्को मारिहाल्छ भन्न सकिदैन । सरकारले वर्षेनी लागु गर्ने वार्षिक निती तथा कार्यक्रममा शिक्षाका लोभलाग्दा योजनाहरु प्रस्तुत हुन्छन् तर ब्यवहारमा कहिल्यै लागु हुदैनन् । शिक्षामा रुपान्तरणको लागी संविधान र शिक्षा नितीलाइ ब्यवहारमा उतार्नु पर्छ । संविधानमा अट्न नसक्ने तर परिवर्तन गर्नै पर्ने शिक्षाका भित्री तत्वहरु पनि थुप्रै छन् । ति तत्वलाइ सुझाब स्वरुप यस आलेखमा बुँदागत रुपमा प्रस्तुत गरिएको छ ।

१. सबै भन्दा पहिला शिक्षाको समान वितरण हुनु पर्छ । नेपालमा २ प्रकारका शिक्षा छन्; गरिबका सन्तानलाइ दिइने शिक्षा र धनीका सन्तानलाइ दिइने शिक्षा । बिकट गाउँमा संचालित शिक्षा र शहरमा संचालित शिक्षा बीच ठूलो भिन्नता छ । शहरमै पनि बोर्डिङ स्कुल र सरकारी स्कुल बीचको खाडल गहिरो छ । स्कुलको ब्राण्ड हैन शिक्षाको गुणस्तर बृद्धि गर्नु पर्छ र देशभरका सबै बालबालिकाको शिक्षामा पहुँच पुग्नु पर्छ । प्राथमिक तहदेखि नै शिक्षाको ब्यापार हुनु राम्रो होइन ।

२. विद्यार्थीले रोजेको र क्षमता अनुसारको विषय पढ्नपाउने व्यवस्था हुनुपर्छ । खेल खेल्न चाहनेलाइ खेलकुद, संगित चाहनेलाइ संगित, र कृषि पढ्न चाहनेलाइ विद्यार्थी काल देखिनै बैज्ञानिक कृषि प्रणाली सिक्न पाउने व्यस्था राखिनुपर्छ। यस्तो व्यवस्था गर्ने हो भने सबै क्षेत्रको समान विकास हुन्छ र रोजगारी पनि सृजना हुन्छ । बाँदरले मात्र रुख चढ्ने सिप सिक्न सक्छ, हात्तिले सक्दैन, त्यसैले हात्ति र बाँदरलाइ एउटै खाले सिप सिकाउन खोज्नु मुर्खता हो ।

३. शिक्षालाइ राजनितीमुक्त बनाउनु पर्छ । शिक्षक पढाउन जानु पर्नेमा कुनै पार्टीको झन्डा बोकेर राजनिती गर्न जाने, विद्यार्थीले राजनिती गरेर शैशिक संस्था बन्दगर्ने, र राजनैतीक दलले विद्यालयलाइ नै राजनिती गर्ने थलो सम्झिँदा हाम्रो शिक्षा खस्किँदो क्रममा छ । विद्यार्थीको हितमा खोलिएका स्वतन्त्र विद्यार्थी युनियनले पनि राजनिती र लडाइँ बाहेक केही गरेका छैनन् । यस्ता राजनैतिक संस्थाको विद्यालय, विश्वविद्यालयमा औचित्य छैन । विद्यालय शान्ती क्षेत्र भनेर भाषण गरिए पनि राजनितीको प्रत्यक्ष असर विद्यालयमा परेको छ । जसकारण विद्यार्थीहरुमा सानै उमेरदेखि राजनिती प्रति घृणा उत्पन्न भएको छ । त्यसैले शिक्षा क्षेत्रलाइ राजनैतिक हतियारको रुपमा प्रयोग गर्न नपाइने कानुन बनाउनु पर्छ । शिक्षक देखि शिक्षा मन्त्रालयको सचिव सम्म राजनैतिक नियुक्ति गर्ने संस्कार नबदले सम्म शिक्षामा सुधान हुन सक्दैन ।

४. कतिपय शिक्षकहरु अझैपनि कक्षाकोठामा जाँदा लठ्ठी लिएर जान्छन् । स-साना नानीहरुलाइ लठ्ठीको त्रासमा शिक्षा दिन खोज्छन्। विद्यार्थीले नमाने सम्झाउने हो । सिकाइमा एउटा लठ्ठीले भन्दा एउटा चकलेटले ठूलो भुमिका खेल्छ भन्ने कुरा हाम्रा शिक्षकहरुलाइ सिकाउनु पर्छ । तालिम दियो भने पशुले त बुद्धमानी पुर्ण ब्यवहार गर्छ भने विद्यार्थीलाइ दण्ड दिँदा र गाली बेइज्जति गर्दा ति विद्यार्थीले के सिक्लान्? त्यकारण, शिक्षालाइ दण्ड रहित क्षेत्र बनाएर प्रेमपूर्ण ढंगले सिकाइ गर्नु पर्छ ।

५. विद्यार्थीलाइ स्वतन्त्रता चाहिन्छ । हरेक मानिसका आफ्नै चाहना हुन्छन् । पढ्ने र काम गर्ने तरिका भिन्नै हुन्छन् । आफ्नो शारिरीक ब्यवहार, पोशाक र साथीको छनौट गर्ने तरिका पनि भिन्नै हुन्छन । कुन खेल खेल्ने, कस्तो कपाल काट्ने, कुन गीत सुन्ने, कस्तो चलचित्र हेर्ने भन्ने सम्बन्धित ब्यक्तिको इच्छामा भर पर्छ । तर अभिभाबक भने छोराछोरीलाइ आफ्नो इशरामा चलाउन चाहन्छन्, आफ्नो सोचाइ भन्दा बाहिरको क्रियाकलाप देख्ने वित्तिकै छोराछोरीले गलत बाटो लिए भन्ने चिन्ता गर्न थाल्छन्, र अनावश्यक दबाब दिन थाल्छन्, जसका कारण विद्यार्थीहरुमा मानसिक तनाब उत्पन्न हुन्छ । एउटा बालकको दिमाग संचालन गर्ने ड्राइभर आफू नभइ बाबुआमा भइदिँदा बालक कि त बाबुआमा प्रति निर्भर हुन थाल्छ कि अटेर बन्न पुग्छ र गलत बाटो लिन पुग्छ । त्यसकारण बालबालिकालाइ स्वतन्त्र छोडिदिनु पर्छ । अभिभाबकले छोराछोरीको पढाइ आफ्नो इज्जत र प्रतिष्ठा सँग तुलना गरिदिँदा विद्याथीले आत्महत्या सम्म गर्नु परेको छ ।

६. हाम्रो शिक्षामा गोपनियता छैन । विद्यार्थीको परीक्षाको नतिजा जस्ले पनि हेर्न पाउने ब्यवस्था छ । सबै विद्यार्थीको नतिजा गोप्य राखिनुपर्छ । विद्यार्थी स्वयंले बाहेक दोस्रो ब्यक्तिले नतिजा थाहा नपाउने ब्यवस्था राख्ने हो भने विद्यार्थीमा तनाब कम हुन्छ, र आफूले सुध्रिने मौका पाउँछन् । हाम्रोमा परिक्षाको नतिजा पत्रपत्रिकामा निकाल्ने चलन छ, जसले विद्यार्थीको गोपनियताको हकलाइ उल्लंघन पनि गर्छ र सबैले नतिजा थाहा पाउने भएपछि विद्यार्थीले लाज, डर र तनाबका कारण आत्महत्या सम्म गर्न पुग्छ।

७. हाम्रो शिक्षा अन्तराष्ट्रिय शिक्षा सँग प्रतिष्पर्धी छैन । पुरानो शिक्षा प्रणाली, पुरानै शैलीका पाठ्यक्रम, राजनैतिक दबाबमा नियुक्ती गरिएका असक्षम शिक्षक कर्मचारि, र अब्यवस्थित तथा अमर्यादित परीक्षा प्रणालीले हाम्रो शिक्षालाइ कमजोर बनाएको छ । विश्वविद्यालयमा संचालित तीन वर्षे स्नातकले विदेशमा गएर पढ्ने विद्यार्थीहरुलाइ पढाइबाट बन्चित बनाएको छ भने, अन्तराष्ट्रिय संस्था/कम्पनीमा काम गर्न चाहनेलाइ शैशिक रुपमा अयोग्य बनाएको छ । यो समस्या सुल्झाउनको लागी नयाँ विश्वविद्यालय थप्नुपर्छ र विश्वविद्यालयहरु आपसमा प्रतिपर्धी बनाउनुपर्छ ।

८. विद्यालयमा सिपमूलक तालिमको ब्यवस्था हुनुपर्छ । हाम्रा शैक्षिक संस्थामा औपचारिक शिक्षा मात्र पढाइ हुन्छ । कुनै डिग्री लिन नचाहने विद्यार्थी पनि बर्षौ सम्म क्याम्पस धाउनु पर्ने बाध्यता छ । जसकारण विद्यार्थी भर्ना हुन चाहदैनन्, अथवा विचमै ड्रप आउट हुन्छन् । दैनिक जीबनमा काम लाग्ने कम्प्युटर अपरेटर, मेकानिक, कृषि, सौन्दर्य, सिलाइ बुनाइ, कला, लेखा, डकर्मी, सिकर्मी, जस्ता विषयलाइ स्कूल र क्याम्पसहरुमा सिकाउनुपर्छ, र यि सिपहरु सिकेर काम गर्न चाहने विद्यार्थीलाइ सर्टिफिकेट दिने व्यवस्था गर्नु पर्छ । छोटो समयमा दक्ष जनशक्ति उत्पादन गर्न र युवालाइ विकाश प्रति उत्प्रेरित गर्न पनि सिपमूलक शिक्षाको आवश्यकता छ ।

९. देश भरिका विद्यालयमा समान भौतिक पुर्वाधारको विकास गर्नु पर्छ । सबै विद्यालयमा पुस्तकालयको ब्यवस्था गर्न सक्ने हो भने किताब किन्न नसकेर विद्यालय नगएका बालबालिकालाइ विद्यालय जान प्रत्साहन हुन्छ । प्रयोगात्मक शिक्षाको लागी प्रयोगशालाको आवश्यकता छ ।

१०. शिक्षाको निम्ति बनेका निती, नियम र कानुनलाइ अक्षरस पालन गर्नुपर्ने संस्कार बसाउनुपर्छ । नियम भन्दा बाहिर जाने शिक्षक , कर्मचारि र प्रसासनलाइ कारबाही गरि बिद्यार्थी सिकाइ र शिक्षाको स्तरोन्नति गर्नु आजको आवश्यकता हो ।

हाम्रो शिक्षाले यस्तो विद्यार्थी उत्पादन गरोस जसले राजनैतिक नेताहरुलाइ सम्मान गरोस, देशको माया गरोस, झाष्ट्रिय चिन्ह र सम्पदाको सदैव रक्षा गरोस । नेपाली भएकोमा गौरव गरोस । पढाइ पुरा गरेपछी देशमै केही गर्नुपर्छ भन्ने सोँच सबै विद्यार्थीमा विकास होस । विदेश गएर दक्षता प्राप्त गरेकालाइ पनि नेपाल फर्कने हौसला मिलोस । पढिसकेपछी सरकारको बाटो हेर्नुभन्दा आफ्नो इलम गरेर खान सक्ने जनशक्ति अबको शिक्षाले उत्पादन गर्नुपर्छ । स्नातकोत्तर सकेको दिन बैदेशिक रोजगारको लागी राहदानी बोकेर राजदुताबास धाउनुपर्ने बाध्यता सँधैको लागी अन्य गर्न शिक्षाले भुमिका खेल्नु सक्नुपर्छ ।
Facebook: newsbinodp@facebook.com
Twitter: @tejbinod

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s