स्नाकोत्तरको पढाइ र ‘नविकेको’ बायोडाटा

image
विनोद पौडेल

भर्खर एसएलसी परिक्षा उत्तीर्ण भाइ-बहिनीलाई बधाइ र अनुत्तिर्णलाई फेरि उत्तीर्ण हुने शुभकामना। जिन्दगीमा एकपटक असफल हुँदैमा आत्तिनु पर्दैन, किनकी यो पहाड हैन, एउटा खुड्किलो मात्र हो। यस्ता खुड्किला जिन्दगीमा सयौं आउँछन्, तर यसैलाई हाम्रा वरपरका मान्छेले पहाड बनाइदिन्छन् र यो पहाड जस्तो देखिएको मात्र हो। एसएलसीमा फेल भएर पनि भएका तर जीवनमा सफलता प्राप्त गरेका जीवन-यात्रीहरु धेरै छन्। जीवनको पथ चाहिँ आफूले नै छान्नु पर्दोरहेछ।

पोखरामा सँगै क्याम्पस पढ्दाको साथीसँग लामो समयपछि भेट भयो मेरो। केही भलाकुसारी र दुख:सुखका गफगाफ पनि भए। परिवारदेखि राजनीतिसम्मका कुरा भए। पुरानो र घनिष्ठ साथीसँग गफिनुको मज्जा नै यही। सबै कुरा खुलस्त पोख्न्न पाइने। उनका सबै कुराले मेरो मन छोए मेरो। उनका कुरामा एकछिन गम खाएपछि एउटा आलेख तयार गर्न मन लाग्यो। यो आलेखको ‘म’ पात्रले हामी धेरैजसो नेपाली युवाहरुको प्रतिनिधित्व गरेको ठान्छु।

कुराकानीको क्रममा उनी भन्दै थिए, ‘नेपालीमा ‘व्यक्तिगत विवरण’ वा अंग्रेजीमा ‘बायोडाटा’ बनाउँदा पहिले आफ्नो नाम लेखिन्छ। अनि शैक्षिक र अन्य योग्यताहरु आउँछन्। मेरो बायोडाटामा नामको ठिक तल झुन्डिएको योग्यतामा सँधै ‘तीनवर्षे बीए’ र ‘एकवर्षे बीएड’ लेख्छु। यो लेखिरहँदा मलाई अलिकति गर्व लाग्छ। कारण, मैले दुईवटा संकायमा स्नातकसम्मको अध्ययन पूरा गर्न कम्ता दु:ख गरेको छैन। यसैका लागी पूरै पाँच वर्ष खर्चेको छु। कति रात निदाइएन, त्यसको के हिसाब गर्नु। त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर दोस्रो वर्ष पढ्दै गर्दा विदेशको भिसा नलागेको भए आजसम्म मेरो बायोडाटामा भएको स्नातकलाई स्नातकोत्तरले उछिनिसकेको हुन्थ्यो होला।‘

‘गाउँको सरकारी विद्यालयबाट एसएलसी पास गरेको म, कक्षामा पहिलो-दोस्रो मै गनिने विद्यार्थी हुँ। क्याम्पसमा पनि अब्बल र मिहिनेती विद्यार्थी मै गनिन्थेँ म। करिब स्नातकोत्तरसम्मको पढाइमा मैले गणितको जोडघटाउदेखि साध्य र नियमसम्म सबै पढेको छु। विज्ञानका सिद्धान्त र आणविक सुत्र पनि मलाइ कन्ठस्थ छन् अझै। नेपाल र विश्वको भूगोल, इतिहासका ठेली पनि मैले नघोकेको हैन। नेपाली भाषा त आफ्नै हो, कस्ले जान्दैन र ? अंग्रेजीमा झन्डै स्नातकोत्तर उपाधि लिन आँटेको मलाई व्याकरण, निबन्ध, कविता, काव्य र साहित्यसम्म सबैको ज्ञान छ, पढेको जति। तर अहिले म एउटा अनपढ र लठेब्रो जस्तै भएको छु। मेरा एकभारी प्रमाणपत्र र ट्रान्सक्रिप्ट कसैलाइ देखाएँ भनेँ मलाई तिनीहरुले हाँसोको पात्र बनाउँछन्। मलाई ज्ञान त छ, तर धेरैमा आधाआधी मात्र छ। त्यसैले केही कुरा जानेको छु भन्न पनि धक लाग्छ अचेल। अंग्रेजीमा एउटा भनाइ छ नि, ‘लिटल नलेज इज डेन्जरस’, मेरो स्थिति त्यस्तै छ अचेल।‘

‘अमेरिकामा स्नातकोत्तर पढाइ गर्ने तीब्र इच्छाका साथ दुई वर्ष पहिले एउटा विश्वविद्यालयमा गएर काउन्सेलेरसँग कुराकानी गरेँ। मेरा प्रमाणपत्र र ट्रान्सक्रिप्टले भरिएको झोला देखाएर मेरो पढ्ने इच्छा ब्यक्त गरेँ। काउन्सेलरले मेरा सबै कागजपत्र हेरेपछि, मैले नेपालमा पढेको शिक्षाशास्त्र र मानविकीका मार्कशीट र सर्टिफिकेटले अमेरिकामा स्नातकोत्तर पढ्न पाउँदैनस् भने। एउटा सामुदायिक कलेजमा सामान्य गणित, अंग्रजी, भूगोल, इतिहास लगायतका विषयको पढाइ पूरा गरेपछि मात्र विश्वविद्यालय भर्ना हुन सकिने सुझाए उनले। म निराश मन लिएर फर्केँ त्यसबेला।‘

‘दुईवटा संकायमा स्नातक गरिसकेको यो ज्यानमा फेरी फर्केर कम्युनिटी कलेजमा १२ कक्षा पढ्ने जाँगर कतैबाट पनि आएन। बरु अनलाइन डिग्री लिने सोचमा विश्वविद्यालय खोज्न थालेँ, आठवटा विश्वविद्यालयमा मेरो मार्कशीट र सर्टिफिकेट पठाएँ, तर मलाई कसैले पत्याएनन्। कसैले चारवर्षे डिप्लोमा खोज भने कसैले मेरो ट्रान्सक्रिप्लाई अनौपचारिक शिक्षा भन्दै औपचारिक शिक्षाको ट्रान्सक्रिप्ट खोइ भनेर सोधे। त्यपछि मेरो पढ्ने सपना केही समयका लागि थाति राखेर मैले जागिर खोज्ने निर्णय गरेँ।‘ उनले मलाई यति सुनाउँदासम्म मेरा आँखा टिलपिल टिलपिल भैसकेका थिए। लाग्यो – हामी नेपालीलाइ कहिँ गए पनि सुख नहुँदो रहेछ।

साथीले थपे, ‘मेरो यो बायोडाटा देखाएर जागिर खान पनि साह्रै गाह्रो। कसैले पनि बायोडाटा हेर्दैनन्। कि त यहीँको डिग्री हुनुपर्यो, होइन भने अनुभव चाहियो। कुनै न कुनै कामको अनुभव हुनका लागि कुनै एक ठाउँमा काम गरेको हुनु पर्छ नि। तर कस्ले दिने जागिर ? अलिअलि पढाइको घमन्ड पनि छ त्यसमाथि। सानोतिनो ठाउँमा गएर काम गर्न यस्सै मन मान्दैन। आफ्नो योग्यता अनुसारको जागीर खोज्यो, प्रतिस्पर्धा गर्न सकिन्न।‘

‘नेपालमा हुँदा पनि मैले दुईतीनवटा निजी विद्यालयमा जागिर गरेको थिएँ। आफन्त र इष्टमित्रले गाँजो हालेका नेपालका निजी क्षेत्रमा जागिर पाउन साह्रै गाह्रो। बायोडाटा त कस्ले हेर्थे र ! धन्न काकाहरुको पहुँच र भनसुनले दुईतीन ठाउँमा जागिर खाएर रोजगार चाहिँ भएको थिएँ। बाध्यताले नविदेशिएको भए अहिलेसम्म स्नातकोत्तर सकेर क्याम्पस पढाउने भै सक्थेँ म। काकाहरुको भनसुनबाट भएपनि लेक्चरर त बन्थेँ नै होला।‘

‘मैले अठार वर्ष पढेको शिक्षाले न मलाई न राम्रो जागिर दियो, न त आत्मसन्तुष्टी नै। उज्ज्वल भविष्यको चाहना साँचेर सदा पढी मात्रै रहेँ मैले। घोक्नुपर्ने ठाउँमा घोकेँ, चोर्नु पर्ने ठाउँमा चोरेँ, ढाँट्नु पर्ने ठाउँमा ढाँटेँ। मलाई मेरा गुरुहरुले जसोजसो गर् भने, इमान्दारिका साथ त्यसैत्यसै गरेँ। सँधै ज्ञानी र लगनशील बनेँ, तर जिन्दगीलाई आफैले धोका दिएको चाल पाएनछु मैले।‘

साथीको यो कहानी सुन्दा एउटा घटनाको याद आयो। एकदिन दश कक्षामा पढ्ने विद्यार्थीले विज्ञान पढाउने शिक्षकलाई आफ्नो मनमा उब्जिएको प्रश्न सोध्यो, ‘सर, सिमीको पात कसरी हरियो हुन्छ?‘। सरले उत्तर दिए,‘हेर बाबु, जसरी मकैको पात हरियो हुन्छ, ठीक त्यसरी नै सिमीको पात पनि हरियो हुन्छ।‘ हाम्रो शिक्षा पद्धतिले ठ्याक्क यस्तै खालका शिक्षक उत्पादन गर्छ। यसले के जनाउँछ भने धेरै शिक्षकले विद्यार्थीको प्रश्नको उत्तर प्रस्टसँग दिन सक्दैनन्। कि त बङ्गाएर उत्तर दिन्छन्, कि भोली भन्छु भनेर टार्छन्। अनि भोली कहिल्यै आउँदैन। हामी यस्तै शिक्षा पाएको व्यक्ति हौँ। हामीले पाएको शिक्षाबाट हामी आफै सन्तुष्ट छैनौं। थाहा छ। एकजनाले रातभरि घोक्ने र सयजनालाई दिनभरि घोकाउने शिक्षण विधि छ हाम्रो। यो शिक्षण विधि र यसैलाई सघाउने शिक्षा नीति व्यवहारको तहसम्मै परिवर्तन नभएसम्म मैले यहाँ उल्लेख गरेको मेरो साथीले प्रतिनिधित्व गर्ने लाखौं दाजुभाइ दिदीबहिनीको हालत यही नै रहन्छ। समय फेरियो, संसारले कोल्टे फेर्यो, तर हाम्रा बाजेका पालादेखिको शिक्षण प्रक्रिया र पाठ्यक्रम कहिल्यै परिवर्तन हुन सकेन। र यसको मार हामीले खेप्नु पर्दैछ अझै।

नेपालका विश्वविद्यालयका पढाइ हुने विज्ञान त्यति नराम्रो कोटीको छैन। चारवर्षे स्नातक भएका ब्यवस्थापन र ब्यापार विषय पढ्नेहरु पनि अरुभन्दा केही सन्तुष्ट नै देखिन्छन्। तर तीनवर्षे स्नातक पढाइ हुने त्रिभुवन विश्वविद्यालयको शिक्षाशास्त्र र मानविकी संकायले भने, न यता न उताका जनशक्ति उत्पादन गर्छन्। साँच्चै भन्ने हो भने यी संकायहरु वर्षेनी बेरोजगार उत्पादन गर्ने कारखाना जस्तै लाग्छन्। यी संकाय अन्तर्राष्ट्रिय रुपमा प्रतिस्पर्धा गर्न सक्ने हैसियतका छैनन्। पुरानै तरिकाको शिक्षा पद्धति र पाठ्यक्रम छ। वर्षभरि नपढीकन हल्लियो, परिक्षाको अघिल्लो रात टुप्पी कसेर गेस पेपर पढेर पास हुन सकिने अनौठो मूल्यांकन विधी छ हाम्रो पढाइको। हाम्रा शिक्षा प्रयोगात्मक भन्दा पनि घोकन्ते भएर नै हो अंग्रेजी भाषामा स्नातकोत्तर गर्ने हामीहरु राम्रोसँग अंग्रेजी बोल्न पनि सक्दैनौं। इन्जिनियरिङ पास गरेकाले राम्रो इन्जिनियरिङ गर्न नसकेर विदेशीलाई गुहार्नुपर्छ। अनि नेपालमा केही काम पाउँदैनौ र गुजरा चलाउनका लागी बल्लतल्ल स्नातकोत्तर पास गरेको मार्कशीट र सर्टिफिकेट बाकसमा थन्काएर विदेश तिर भासिन्छौं। हामी सबैको बायोडाटाको हातल त्यस्तै हो।

बायोडाटा बाकसमा थन्किन्छ हामी खाडीमा रापिन्छौं। यस्तै छ हाल हाम्रो।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s